Section 29G
सम्पत्ति तथा कोष अविलम्व रोक्का राख्नु पर्ने
(१) प्राकृतिक व्यक्ति, कानूनी व्यक्ति, सम्बन्धित निकाय वा सूचक संस्थाले दफा २९ङ. र २९च. बमोजिमको सूचीमा उल्लिखित आतङ्कवादी कृयाकलापमा संलग्न व्यक्ति, समूह वा संगठनको सम्पत्ति वा कोष विना पूर्व सूचना तत्काल रोक्का राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम रोक्का राख्दा आफूसग रहेको देहाय बमोजिमको सम्पत्ति तथा कोष अविलम्व रोक्का राख्नु पर्नेछः–
(क) त्यस्तो व्यक्ति, समूह वा संगठनको प्रत्यक्ष वा अप्रत्यक्ष रुपले एकल वा संयुक्त स्वामित्व, भोग वा नियन्त्रणमा रहेको सबै सम्पत्ति वा कोष,
(ख) खण्ड (क) बमोजिमको सम्पत्ति वा कोषबाट बढे वा बढाएको सम्पत्ति वा कोष,
(ग) त्यस्तो व्यक्ति, समूह वा संगठनको तर्फबाट वा निर्देशनमा रही काम गर्ने जुनसुकै व्यक्ति, समूह वा संगठनको सम्पत्ति वा कोष ।
(३) यस दफा बमोजिम सम्पत्ति वा कोष रोक्का राख्दा त्यस्तो सम्पत्ति वा कोष यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा उल्लिखित प्रकृया र अवस्थामा बाहेक कसैलाई हस्तान्तरण गर्न, धितो वा बन्धक लिन वा दिन, बिक्री वितरण गर्न वा कारोबार गर्न नहुने गरी रोक्का राख्नु पर्नेछ ।
(४) प्राकृतिक व्यक्ति, कानूनी व्यक्ति, सम्बन्धित निकाय तथा सूचक संस्थाले उपदफा (१) र (२) बमोजिम रोक्का राखेको सम्पत्ति तथा कोष, आर्थिक साधन स्रोत, वित्तीय वा अन्य सम्बद्ध सुविधा दफा २९ङ. र २९च. मा उल्लिखित व्यक्ति, समूह वा संगठनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एकल वा संयुक्त रुपमा प्रयोग गर्न वा लाभ प्राप्त गर्न नपाउने व्यवस्था गर्नु पर्नेछ ।
(५) उपदफा (१) र (२) बमोजिम सम्पत्ति वा कोष रोक्का राखेको विवरण सो कार्य गरेको मितिले तीन दिनभित्र प्राकृतिक व्यक्ति, कानूनी व्यक्ति र सम्बन्धित निकायले अर्थ मन्त्रालयमा र सूचक संस्थाले आफ्नो नियमनकारी निकायमा पठाउनु पर्नेछ ।
(६) नियमनकारी निकायले उपदफा (५) बमोजिम सूचक संस्थाबाट प्राप्त विवरण तीन दिनभित्र अर्थ मन्त्रालयमा पठाउनु पर्नेछ ।
(७) यस परिच्छेद बमोजिमको सम्पत्ति वा कोष रोक्का सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।